काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको ठूलो भण्डारण फेला परेको छ। चीनको जिओलोजिकल सर्भे कम्पनीले अन्वेषणपछि तयार पारेको प्रारम्भिक प्रतिवेदनमा पहिलो ड्रिलिङ साइटबाट एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको हो। चार सम्भावित कुइँकानमध्ये यो पहिलो हो भने अन्य तीन कुइँकानसहित जलजले क्षेत्रमै ४३० अर्ब घनमिटर ग्यासको अनुमान गरिएको छ।
खानी तथा भूगर्भ विभागका अनुसार सन् २०१९ मा नेपाल–चीनबीच भएको सरकारी सम्झौतापछि यो अन्वेषण सुरु गरिएको हो। हालसम्मकै गहिरो (४,०१३ मिटर) र वैज्ञानिक रूपमा सम्पन्न अन्वेषणमा संकलित नमुनाको विस्तृत परीक्षण चलिरहेको छ। चिनियाँ कम्पनीले सन् २०२५ को अन्त्यसम्म अन्तिम प्रतिवेदन बुझाउने र व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने तयारी गरिएको छ।
स्थानीयले ग्यास आफैँ बल्ने घटना विगतदेखि देख्दै आएका थिए। भारतको नाकाबन्दीपछि ऊर्जा आत्मनिर्भरताको खोजीले यो परियोजना अघि बढेको हो। प्रारम्भिक अन्वेषणले दैलेखमा इन्धन उत्पादनको सम्भावना प्रस्ट्याउँदै स्वदेशी स्रोतमा आशाको उज्यालो देखिएको छ।