७.८३ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि एभरेष्ट बैंकबाट १३६ करोडको वित्तीय व्यवस्था

काठमाडौँ। एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको नासोङ गाउँपालिकामा निर्माण गर्न लागिएको ७.८३ मेगावाट क्षमताको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन सम्बन्धी सहमति भएको छ। सहमति पत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बुटवल पावर कम्पनी हाइड्रोपावरद्वारा प्रवद्र्धित यो आयोजना चिनियाँ ठेकेदारलाई EPC मोडलमा ठेक्का दिइएको छ र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। उत्पादन हुने विद्युत मनाङको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। २०७२ वैशाखमा चिनो हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ। आयोजना वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ।

भारतको पंजाब नेशनल बैंकसँगको साझेदारीमा स्थापना भएको एभरेष्ट बैंकले देशभर १३७ शाखा, ४ एक्सटेन्सन काउन्टर र ७ प्रादेशिक कार्यालयमार्फत सेवा दिँदै आएको छ। बैंकका १४ लाखभन्दा बढी ग्राहक छन्। बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम सेवा, तथा सरकारको राजस्व संकलन सेवा पनि प्रदान गर्दै आएको छ। यसका अतिरिक्त, बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरेको जनाएको छ।