लगानीकर्ताको सुझाव: सेटलमेन्ट समय छोट्याउन र डिजिटल सेवा विस्तार गर्न सिडिएससी सिइओ पन्दाकलाई आग्रह

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन पन्दाकलाई शेयर लगानीकर्ता संघ, नेपाल पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरूले सेटलमेन्ट प्रक्रिया छरितो बनाउन तथा डिजिटल सेवा प्रणालीमा सुधार गर्न सुझाव दिएका छन्।

सिइओ पन्दाकलाई भेटेर संस्थाहरूका शीर्ष पदाधिकारीहरूले एक संयुक्त पत्र बुझाउँदै CDSC मा लगानीकर्ता मैत्री नीति ल्याउन, प्रविधिको पहुँच विस्तार गर्न, वित्तीय साक्षरता अभिवृद्धि गर्न र ग्राहक सेवा प्रणालीमा पारदर्शिता तथा जवाफदेहिता सुदृढ गर्न जोड दिएका हुन्। उनीहरूले नवनियुक्त सिइओलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, भविष्यमा सिडिएससीको नीति तथा कार्यक्रम लगानीकर्ता केन्द्रित हुने विश्वाससमेत व्यक्त गरेका छन्।

सुझावपत्रमा विशेषतः मोबाइल एप तथा अनलाइन प्रणालीमार्फत दूरदराजका लगानीकर्तालाई सहज सेवा दिनुपर्ने, आईपीओ आवेदन प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउनु पर्ने, साथै लगानीकर्ताको गुनासो समाधानका लागि सक्षम हेल्पडेस्क वा डिजिटल पोर्टल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।