असार महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, पाँच बैंकले घटाए

काठमाडौं । वाणिज्य बैंकरुको ब्याजदर निरन्तर घटी रहेको छ । बैंकहरुले असार महिनाका लागि पनि ब्याजदर घटाएका छन् । असार महिनामा बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत बिन्दु घटेर ५.९०२ प्रतिशत कायम भएको छ । जबकि, जेठ महिनामा भने बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औषत ५.९५२ प्रतिशत ब्याज दिएका थिए । अधिकांश बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, असारमा भने पाँच वटा बैंकले भने घटाएका छन् ।

असार महिनामा लागू हुने गरि बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार एभरेष्ट, कृषि विकास, एनएमबि, कुमारी, एनआइसी एशिया बैंकले घटाएका हुन् ।एभरेष्ट बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेप तर्फ ६.५५ प्रतिशत र संस्थागत तर्फ ५.६४ प्रतिशत ब्याज दिने भएको छ । एभरेष्टले जेठ महिनामा व्यक्तिगतमा ६.६४ प्रतिशत र संस्थागतमा ५.६५ प्रतिशत ब्याज दिएको थियो ।

कृषि विकासले व्यक्तिगत तर्फ ५.४५ प्रतिशत र संस्थागत तर्फ ४.४५ प्रतिशत ब्याज दिने भएको हो । जेठ महिनामा बैंकले व्यक्तिगत र संस्थागतमा क्रमशः ५.५१ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिएको थियो । यस्तै, कुमारी बैंकले व्यक्तिगतमा ५.७१ प्रतिशत र संस्थागतमा ४.५१ प्रतिशत, एनएमबिले व्यक्तिगतमा ६ प्रतिशत र संस्थागतमा ५ प्रतिशत र एनआइसी एशियाले व्यक्तिगतमा ६.५५ प्रतिशत र संस्थागतमा ५.५५ प्रतिशत ब्याज तोकेको छ । यो ब्याजदर जेठको तुलनामा भने कम हो ।

यी बाहेकका अन्य सबै बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । असारमा नेपाल बैंकले व्यक्तिगत मुद्दित निक्षेपमा ५.५५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले व्यक्तिगत तर्फ समान ५.५ प्रतिशत ब्याजदर दिने भएका छन् । संस्थागत तर्फ भने यी बैंकहरुले क्रमशः ४.५ प्रतिशत, ४ प्रतिशत र ४.५ प्रतिशत ब्याज तोकेका छन् ।

यता, सिद्धार्थ, लक्ष्मी सनराइज र नबिल बैंकले पनि व्यक्तिगत मुद्दति निक्षेपमा समान ब्याज ५.७५ प्रतिशत तोकेका छन् । यी बैंकले संस्थागत मुद्दति निक्षेपमा भने क्रमशः ४.७५ प्रतिशत, ४.५ प्रतिशत र ४.०५ प्रतिशत ब्याज दिने भएका छन् । त्यसैगरि असार महिनाका लागि ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगत तर्फ समान ब्याजदर ६ प्रतिशत तोकेका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४.२५ प्रतिशत, ४ प्रतिशत र ४ प्रतिशत ब्याजदर दिने भएका छन् ।

यस्तै, प्रभू बैंकले व्यक्तिगतमा ६.१ प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ६.२५ प्रतिशत र सानिमाले ६.३३ प्रतिशत ब्याजदर तोकेको छ । यी बैंकहरुले असारमा संस्थागत मुद्दति निक्षेप तर्फ भने क्रमशः ५प्रतिशत, ३.३५ प्रतिशत, ३ प्रतिशत र ४.५ प्रतिशत ब्याज दिने भएका छन् ।