आज  प्रतिनिधि सभा बैठक बस्दै ,यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। सो प्रस्तावमाथि प्रतिनिधिहरूबीच छलफल हुनेछ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि रहेको छ। यसैगरी, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूबारे बैठकलाई जानकारी गराउने कार्यसूची समावेश गरिएको छ।

हाल ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध भइरहेकाले नियमित कार्यसूचीमा प्रवेश हुन सकेको छैन। आजको बैठकले संसद् सञ्चालनमा गति ल्याउने अपेक्षा गरिएको छ।