काठमाडौँ । नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म शिक्षातर्फ मात्र यति ठूलो परिमाणमा रकम बाहिरिएको हो।
अघिल्लो वर्ष यही अवधिमा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च भएको थियो। शिक्षा र घुमफिरका लागि विदेश गएका नेपालीहरूको खर्च जोड्दा कुल १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशतले बढी हो।
त्यसैगरी, भ्रमणका लागि नेपाल आएका पर्यटकहरूले हालसम्म ७५ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ६९ अर्ब ७३ करोड रुपैयाँ थियो। पालमा सेवा खाता अन्तर्गत विदेशिने रकम भित्रनेभन्दा उच्च रहेकाले घाटा देखिएको छ। चालु वर्षको वैशाख मसान्तसम्म सेवा खाता ८६ अर्ब ५३ करोड रुपैयाँले घाटामा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५० अर्ब ३१ करोड रुपैयाँ घाटामा थियो।