रेमिट्यान्स आप्रवाह १० महिनामा १३ खर्ब नाघ्यो

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा देशमा रेमिट्यान्स आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। २०८२ सालको वैशाख महिनामा मात्रै १६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ११५ अर्ब ९९ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि दर १४.८ प्रतिशत रहेको थियो। त्यस्तै, खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १३०१ अर्ब ७५ करोडको तुलनामा उच्च हो।

विदेशी रोजगारतर्फ, सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ। अघिल्लो वर्ष यो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ थियो। यी तथ्यांकले नेपाली श्रमिकको वैदेशिक रोजगारप्रतिको आकर्षण कायमै रहेको र रेमिट्यान्स देशको अर्थतन्त्रमा महत्वपूर्ण स्रोत बनेको स्पष्ट देखिन्छ।