राष्ट्र बैंकद्वारा आगामी मौद्रिक नीति तयारी सुरु, सुझाव माग

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले सरोकारवाला निकायहरू, विज्ञहरू तथा आम नागरिकलाई मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा राय तथा सुझाव पठाउन आह्वान गरेको हो।

सूचनामा उल्लेख गरिएअनुसार, इच्छुक व्यक्ति वा संस्थाहरूले आगामी असार १० गतेभित्र आफ्ना सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा इमेलमार्फत पठाउन सक्नेछन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र नयाँ मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। साथै, मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा सम्बन्धित अवधि समाप्त भएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था समेत लागू छ।