काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले बोनस शेयर वितरण तथा साधारण सभाको प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले १२ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि इन्स्योरेन्सको शेयरमूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार इन्स्योरेन्सको अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा रहेको थियो। यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा सो दिनबाट शेयर कारोबार खुल्नेछ।
साधारण सभाबाट बोनस र नगद लाभांश प्रस्ताव पारित हुने
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आगामी असार २ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बिहान ११ बजे सुरु हुने सभाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्तावहरूमाथि पनि निर्णय गर्नेछ।