काठमाडौँ । ‘खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको हो। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार नेपालले यस दिवसलाई राष्ट्रिय कार्यक्रमको रूपमा मनाउँदै आएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार अस्वच्छ तथा दूषित खाद्य पदार्थका कारण विश्वभर २०० भन्दा बढी प्रकारका रोग लाग्ने गर्छन्। प्रत्येक वर्ष लगभग ४ लाख २० हजार मानिस खाद्यजन्य रोगका कारण ज्यान गुमाउँछन् भने झाडापखालाबाट मात्रै करिब ५५ करोड मानिस प्रभावित हुने र २ लाख ३० हजारको ज्यान जाने गरेको तथ्यांक छ।
नेपालमा भने यस दिवसको सुरुवात बि.सं. २०६५ देखि गरिएको थियो। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिएअनुसार नेपालमा खाद्य स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न अभियानहरू चलाइँदै आएका छन्।
विश्व स्वास्थ्य संगठनको अध्ययनले तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्यमा एण्टिबायोटिकको अवशेष तथा खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ।
नेपालको संविधानले खाद्य सुरक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरिसकेको छ। सोही अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरिएको छ जसले मानव स्वास्थ्यको रक्षा तथा उपभोक्ता हित संरक्षणका लागि वैज्ञानिक आधारमा खाद्य पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न कानुनी व्यवस्था गरेको छ।
दिवसको सफलताका लागि सरकारी तथा गैरसरकारी संघसंस्था, अन्तर्राष्ट्रिय साझेदार, खाद्य उद्योग, पोषणसम्बन्धी संस्था तथा उपभोक्ता अधिकारकर्मीहरूबीच समन्वय गरिँदै आएको छ। विविध कार्यक्रमहरू मार्फत जनसाधारणमा खाद्य स्वच्छताका महत्वबारे सन्देश फैलाउने लक्ष्य राखिएको छ।