काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले सरकारले बजेटमा ल्याएको ‘टेक एण्ड पे’ प्रकारको पावर खरिद सम्झौता (PPA) व्यवस्था तत्काल संशोधन नगरे, निजी क्षेत्रका जलविद्युत आयोजनाका पावरहाउसहरू बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ। उर्जा उत्पादकहरूको भेलामा इप्पान अध्यक्ष गणेश कार्कीले अहिले देशको ८० प्रतिशत विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको भन्दै, यदि निजी क्षेत्रले विद्युत आपूर्ति नगर्ने हो भने नेपाल विद्युत प्राधिकरण नै बन्द हुने दाबी गरे। सरकारले 'अब देशलाई बिजुली पुग्यो, लगानी चाहिँदैन' भन्ने सन्देश दिँदै निजी क्षेत्रलाई बेवास्ता गरेको आरोपसमेत उनले लगाए।
अध्यक्ष कार्कीका अनुसार नयाँ प्रावधानले हाल निर्माणाधीन १,११७ मेगावाटका आयोजना प्रभावित भएका छन्, जसमा ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सरकारले एकातिर २८,५०० मेगावाट उत्पादनको लक्ष्य लिने र अर्कातिर खरिद सम्झौता नगर्ने नीति लिएको भन्दै उनले त्यसलाई गम्भीर संकटको संकेत माने। ROR (Run-of-River) मात्र होइन, सोलार र स्टोरेज परियोजनाहरूको समेत PPA हुने अवस्था नरहेको उल्लेख गर्दै उनले सरकार र प्राधिकरण विद्युत व्यापार गर्न असमर्थ छन् भने निजी क्षेत्रलाई स्वीकृति दिनुपर्ने माग गरे। अन्याय सहेर बसेको निजी क्षेत्र अब अन्तिम विकल्पका रूपमा पावरहाउस बन्द गर्न बाध्य हुने चेतावनी कार्कीले पुनः दोहोर्याए।