डा. राणाको भनाइ: विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य

काठमाडौँ । धनगढीमा आगामी असोजमा हुने सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वतयारी कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विकासको खाका तयार गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन्। बुधबार कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान युगमा सरकारले एकल प्रयासमा मात्र विकास गर्न नसक्ने उल्लेख गर्दै विश्व बैंक र एसियाली विकास बैंकका अतिरिक्त नयाँ लगानीकर्ता खोज्नुपर्ने आवश्यकता औंल्याइन्। पहाडी क्षेत्रमा विकास भए पनि मानिस बसोबास गर्न छोडेको प्रसंग उल्लेख गर्दै उनले एकीकृत विकासमा जोड दिइन्।

मन्त्री डा. राणाले सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न चाहेको बेतन कर्णाली जलविद्युत् आयोजनाका विषयमा संघीय सरकारले छलफल गर्ने बताइन्। साथै, भारतको सहयोगमा निर्माण भइरहेको फाप्ला क्रिकेट मैदानमा प्रदेश सरकारको उल्लेखनीय सहयोग रहेको जानकारी दिइन्। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय मन्त्रीहरू, विभिन्न देशका राजदूत, दातृ निकायका प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका सदस्यहरूको उपस्थिति थियो।