गभर्नर पौडेलको चिन्ता: ‘केही व्यक्तिको हातमा धेरै ऋण, समावेशी वित्तीय प्रणालीको खाँचो’

 काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाले दिन सक्ने ऋण सीमित व्यक्तिहरूको नियन्त्रणमा रहेको भन्दै समावेशी वित्तीय पहुँचको आवश्यकता औंल्याएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै उनले हाल १९ लाख ४० हजार व्यक्तिले ऋण लिएको भए पनि जम्मा ०.०१ प्रतिशत ऋणीले ३.९ प्रतिशत ऋण मात्र उपयोग गरिरहेको तथ्य प्रस्तुत गरे। बैंकको पैसा ‘देशको साझा सम्पत्ति’ भएको उल्लेख गर्दै उनले यस्तो वित्तीय पहुँच सबै नागरिकसम्म पुग्नुपर्नेमा जोड दिए। ‘एक जनाले एक अर्ब ऋण पाउनु भन्दा हजार जनाले १० लाख पाउँदा देशले फाइदा गर्छ,’ गभर्नरले भने।

पौडेलले बैंकिङ क्षेत्रमा देखिएको स्वार्थको द्वन्द्व समाधान गर्न कानुनी स्पष्टता आवश्यक भएको बताए। बैंक सञ्चालक तथा मालिकहरूको कर्जामा पहुँच र प्रभावको विषयमा विधेयकले प्रष्ट पाटो ल्याउने उनले जनाए। साथै, कृषि र साना ऋणीका कर्जा बढी बिग्रिएको भए पनि व्यवसायिक सीप र दोहोर्‍याउने अवसरले सुधार सम्भव हुने तर्क गर्दै गभर्नर पौडेलले किसानलाई व्यवसायी बनाउनुपर्नेमा जोड दिए। उनले हाल विदेशी विनिमय सञ्चिति १८ अर्ब डलर हुँदा पनि अर्थतन्त्र नचलेको अवस्थालाई लिएर आगामी मौद्रिक नीतिमा नीतिगत पुनरावलोकन गरिने संकेत पनि दिए।