सार्वजनिक विदाका कारण ट्रेड टावरको आईपीओ म्याद एक दिन बढ्यो

काठमाडौँ । ट्रेड टावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (IPO) मा आवेदन दिने समयसीमा एक दिन थपिएको छ। कम्पनीले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर बिक्री खुला गरेको थियो। प्रारम्भिक रूपमा आवेदन दिने अन्तिम म्याद जेठ १९ तोकिएको भए पनि, जेठ १८ गते सार्वजनिक विदा परेको कारण अब सर्वसाधारणले यो आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम १०० कित्तासम्म आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई श्रम स्वीकृतिपछि शेयर बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डबाट चैत्र २५ गते शेयर निष्काशनको स्वीकृति प्राप्त गरेको ट्रेड टावर लिमिटेडले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसमा ४८.६९६ प्रतिशत शेयर जारी पूँजीको हिस्सा हो। यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। कम्पनीले थापाथलीमा ट्रेड टावर, भैंसेपाटीमा जनता रेसिडेन्सी अपार्टमेन्ट र गौशालामा होटल क्रिस्टल पशुपति निर्माण गरी सञ्चालनमा ल्याएको छ। कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन्, जसको कम्पनीमा सबैभन्दा ठूलो स्वामित्व रहेको छ।