
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याउने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
अर्थमन्त्री पौडेलले लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक तयारी अघि बढाइने पनि बताए। माटोको गुणस्तर सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सरकारले प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसैगरी, पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग आसपासका बाँझो कृषियोग्य जमिनमा उत्पादन प्रवर्द्धन गरिनेछ। यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताए।