
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण आर्थिक रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरेका छन्। मंगलबार नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरूले राष्ट्र बैंकमा भेटघाट गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गएका अवसरमा गभर्नर पौडेलले लघुवित्त क्षेत्रको योगदानलाई सकारात्मक रूपमा मूल्यांकन गरेका हुन्।
"ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाहरूले वित्तीय पहुँच विस्तार र सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएका छन्," गभर्नर पौडेलले भने, "हाल देखिएका केही समस्याहरूलाई सुधार गर्दै यस क्षेत्रलाई अझ व्यापक र सुदृढ बनाउन आवश्यक छ।"
नीति निर्माणका क्रममा सबै सरोकारवालासँग संवाद गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गभर्नर पौडेलले लघुवित्तको महत्व र सामाजिक मूल्यबारे आफू पूर्ण रूपमा जानकार रहेको बताए। "संवादमार्फत नीतिगत व्यवस्थामा सुधार ल्याउनेछु, सबै पक्षलाई समेटेर अघि बढ्ने मेरो अठोट छ," उनले स्पष्ट पारे।
भेटमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले लघुवित्त संस्थाहरूले भोगिरहेका समस्या समाधानका लागि राष्ट्र बैंकले सक्रिय र सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले नीतिगत संरचना सहज बनाई व्यवसाय विस्तार र वित्तीय पहुँच वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष रामहरि दाहाल, महासचिव सञ्जय कुमार मण्डल, कोषाध्यक्ष विनोद आचार्य लगायत विभिन्न लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति थियो।