बजेटपछि शेयर बजार चार दिन बन्द हुने , लगानीकर्तालाई विश्लेषण गर्न पर्याप्त समय

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते बिहीबार संसद्मा प्रस्तुत गर्ने तयारी गरेका छन्। बजेट सार्वजनिक भएपछि शेयर बजारमा हुने पहिलो कारोबारप्रति लगानीकर्ताको चासो रहने सामान्य अभ्यास हो। तर, यस वर्ष लगानीकर्ताले बजेटपछिको शेयर कारोबार गर्न चार दिन कुर्नुपर्नेछ।

बजेट प्रस्तुत हुने दिन जेठ १५ गते बिहीबार हो। त्यसपछि जेठ १६ गते शुक्रबार र १७ गते शनिबार नियमित बिदा पर्छ। यता, जेठ १८ गते आइतबार भने काठमाडौं उपत्यकामा सार्वजनिक विदा रहनेछ, किनभने सो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा पर्छ। यसरी चार दिनसम्म शेयर बजार बन्द रहने भएकोले बजेटपछिको पहिलो कारोबार जेठ १९ गते सोमबार मात्र खुल्नेछ।

यसबीचमा लगानीकर्ताहरूलाई बजेटमा समावेश नयाँ नीतिहरू अध्ययन गर्न तथा बजारको संभावित प्रभावको विश्लेषण गर्न पर्याप्त समय मिल्नेछ। भोटो देखाउने जात्राको सार्वजनिक विदा नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ, यद्यपि ठ्याक्कै कुन दिन विदा हुने भन्ने निर्णय गृह मन्त्रालयले गर्नेछ, जसको औपचारिक सूचना शुक्रबारसम्म सार्वजनिक गरिनेछ।

रातो मच्छिन्द्रनाथको रथ यसपटक जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल ल्याइने तयारी छ। परम्पराअनुसार रथ जावलाखेल आइपुगेको चार दिनपछि भोटो देखाउने जात्रा मनाइन्छ, जसपछि रथलाई बाजागाजासहित मूल स्थान बुङ्गमति फिर्ता लगेर जात्रा समापन गरिन्छ।