
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपको जवाफ संसदबाटै दिने भएका छन्। प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री लेखकबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्रीले राजीनामा नदिई संसदमै स्पष्टिकरण दिने सहमति भएको हो। छलफलले राजीनामाको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ।
यद्यपि प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान लिएका छन् र यही मागसहित मंगलबार संसद अवरुद्ध गरेका थिए। सत्तारूढ पक्ष भने लेखकले राजीनामा दिनु नपर्नेमा अडिग छन्, जसका कारण गृहमन्त्रीको संसद सम्वोधन र प्रतिपक्षको विरोधले बुधवारको संसद तनावग्रस्त हुने संकेत देखिएको छ।