
काठमाडौं । ट्रेड टावर लिमिटेडले भोलि जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिले नै आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर निष्काशन गर्न लागिएको हो। कम्पनीको कुल जारी पूँजीको ४८.६९६ प्रतिशत अर्थात ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति दिइएकोमा, कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक श्रमिकका लागि छुट्याइएको भाग कटाएर बाँकी शेयर अब आम लगानीकर्ताका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक आवेदन नपरेमा अवधि जेठ २८ गतेसम्म लम्बिन सक्छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत ‘मेरो शेयर’ अनलाइन वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।