गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल नियुक्ति बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ।यसअघि अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेतीलगायतले गत शुक्रबार सर्वाेच्च प्रशासनमा पेस गरेको रिट दरपिठ भए पनि आज दर्ता भएको हो।

प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई अघि सारिएकाले कानुनी व्यवस्था विपरीत सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं त्यसमा छनोट हुने परिपाटीले सुशासनको धज्जी उडाएकाले नियुक्त बदरभागी भएको रिटमा उल्लेख छ।रिट निवेदक उप्रेतीले रिटमा मुद्दाको टुंगो नलादासम्म गभर्नरले नोटमा हस्ताक्षर गर्नेलगायत राष्ट्रिय महत्त्वका विषयमा अन्तरिम आदेश माग गरिएको छ।

निवेदनमा पौडेललाई राजनीतिक पृष्ठभूमिका व्यक्ति भएको, मौद्रिक क्षेत्रसम्बन्धी आवश्यक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ। उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रको औपचारिक योग्यता नभएको उल्लेख छ। यो रिटमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ