
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै विदेशी लगानी प्रवर्द्धन र बैंकिङ प्रणाली सुधारका लागि नयाँ कानुनी तथा नीतिगत उपायहरू ल्याउने तयारी गरेको छ।
मंगलबार सार्वजनिक समीक्षा प्रतिवेदनअनुसार राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने घोषणा गरेको छ। यस विनियमावलीमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा हालै भएका संशोधनका प्रावधानहरू समेटिनेछन्।
यसबाहेक, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन अनुरूप चेक अनादरसम्बन्धी प्रमाणिकरण कार्यविधि पनि तयार गरी कार्यान्वयनमा ल्याइने बताइएको छ। राष्ट्र बैंकले आन्तरिक आर्थिक अवस्था, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको अवस्थालाई मध्यनजर गर्दै मौद्रिक नीति सन्तुलित र लचिलो बनाइएको स्पष्ट पारेको छ। साथै, आवश्यकता अनुसार मौद्रिक उपायहरूमा परिमार्जन गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नीति निर्माण र समीक्षामा सहयोग पुर्याएका सरकारी निकाय, उद्योग व्यवसायका संघसंस्था, बैंक तथा वित्तीय संस्था, विज्ञ समुदाय र सञ्चारमाध्यमलाई राष्ट्र बैंकले आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गरेको छ।