
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार पियोर इनर्जी लिमिटेडको ८० लाख कित्ता शेयर सूचीकृत भएको छ। अब मंगलबारदेखि कम्पनीको शेयर कारोबार सुरू हुने भएको हो।
कम्पनीको शेयर नेप्सेमा "PURE" सिम्बलबाट कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रारम्भिक मूल्य रेन्ज ९६.४५ रुपैयाँदेखि २८९.३५ रुपैयाँसम्म निर्धारण गरेको छ। सामान्यतया अधिकतम मूल्यबाट कारोबार सुरू हुने प्रवृत्तिलाई हेर्दा पियोर इनर्जीको पहिलो कारोबार २८९.३५ रुपैयाँमै हुने सम्भावना छ।
कम्पनीले चैत्र २८ गतेदेखि सर्वसाधारणका लागि ११ लाख ९५ हजार २ सय कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो, जसको बाँडफाँड वैशाख ११ गते सम्पन्न भएको थियो। पियोर इनर्जीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ, जसमा ८० प्रतिशत स्वामित्व संस्थापकहरू र बाँकी २० प्रतिशत सर्वसाधारणको हिस्सामा छ।
पियोर इनर्जी, गोल्यान ग्रुप अन्तर्गतको सौर्य ऊर्जा कम्पनी हो, जसले बाँकेमा १०-१० मेगावाट क्षमताका दुई वटा सोलार आयोजना सञ्चालन गर्दै आएको छ। यी आयोजनाहरूले २०८० सालदेखि नै व्यावसायिक उत्पादन गरिरहेका छन्। हाल २० मेगावाट उत्पादन क्षमतासहित पियोर इनर्जी नेपालमै सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो।