
काठमाडौँ । ग्लोबल आइएमई बैकले यती एयरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइनेछ ।
यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।
कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे ।
त्यसैगरी, यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताउनुभयो । कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा यती एयरलाइन्सका अकाउन्टेबल म्यानेजर (चिफ बिजनेस अफिसर) युवराज विष्टले एकआपसमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबीच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले हाल ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
त्यसैगरी, यती एयरलाइन्सले विगत २६ वर्षदेखि अनवरतरुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ । हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरु लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरुलाई सेवा दिइरहेको छ ।