पर्यटन समृद्धिको लागि, हिमालहरूको ब्रान्डिङ आवश्यक : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आर्थिक समृद्धिको आधारको रूपमा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा समन्वयात्मक पहल आवश्यक रहेको बताएका छन्। गणतन्त्र दिवस–२०८२ को अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री पाण्डेले हिमाली क्षेत्रको ब्रान्डिङ, पूर्वाधार निर्माण तथा संरचनागत सुधारमार्फत पर्यटनलाई आर्थिक समृद्धिको माध्यम बनाउन सकिने बताए। उनले सगरमाथालगायत विश्वप्रसिद्ध हिमालहरूको नीतिगत प्रचार–प्रसार आवश्यक रहेको उल्लेख गर्दै साहसिक गन्तव्यका रूपमा नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा स्थापित गर्नुपर्नेमा जोड दिए।

मन्त्री पाण्डेले प्रदर्शनीमा राखिएका तस्बिरले नेपालमा पर्यटकीय गतिविधि भइरहेको सन्देश दिनेसमेत विश्वास व्यक्त गरे। उनले प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधताले भरिपूर्ण नेपालको पर्वतीय पर्यटनलाई एकीकृत ढंगले अघि बढाउन मन्त्रालयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। राससको फोटो प्रदर्शनीले सम्बन्धित निकायहरूलाई सचेत गराएको उल्लेख गर्दै उनले पर्यटन मन्त्रालयले गन्तव्य प्रवर्द्धनका लागि विशेष योजना ल्याउने बताएका छन्। प्रदर्शनीमा नेपालको आठ हजार मिटर भन्दा अग्ला हिमाल, हिमाली जनजीवन, पहाडी गन्तव्य, ताल तथा पोखरीलगायतका विषयवस्तु समेटिएका छन्।