
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले झन्डै ११ लाख कित्ता संस्थापक समूहका शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि हकप्रद शेयर जारी गर्दा बिक्री नभएका कुल १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक समूहका शेयर आज (जेठ ११ गते) देखि लिलामी प्रक्रियामा ल्याएको हो।
उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाहरूले बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र आवेदन दिँदा लगानीकर्ताले सो मूल्य वा त्यसभन्दा बढी मूल्य कबुल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सोभन्दा बढीको हकमा १० कित्ताको गुणात्मक संख्यामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बोलपत्र पेस गर्न सकिने अन्तिम म्याद आगामी असार १ गते सम्म रहेको छ। शेयर खरिदका लागि बोलपत्रहरू धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं, कमलादीस्थित कार्यालय, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी र शाखा कार्यालयहरू बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा तथा प्रभु बैंकका शाखाहरू विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा बुझाउन सकिनेछ।
लिलामी प्रक्रियाबाट बिक्री हुने यस शेयरमा सहभागी हुन लगानीकर्ताले समयमै बोलपत्र बुझाउन अनुरोध गरिएको छ।