
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ। केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार समीक्षा प्रक्रिया अन्तिम चरणमा पुगेको छ र कुनै अप्रत्याशित अड्चन नआएमा आजै साँझसम्म सार्वजनिक हुने सम्भावना छ।
उनका अनुसार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा तयार गरी व्यवस्थापन समितिमा बुझाइसकेको छ। समितिले त्यसमा प्रारम्भिक छलफल सम्पन्न गरी सञ्चालक समितिमा पेश गर्ने तयारी गरिरहेको छ।
“आज साँझ साढे ५ बजे राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाइएको छ,” आचार्यले बताए, “संभवत: सोही बैठकले समीक्षा पारित गरेपछि औपचारिक रूपमा सार्वजनिक गरिनेछ।”
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आर्थिक वर्षको चालु अवस्थाबारे मूल्यांकन गर्दै आगामी आर्थिक गतिविधिमा मार्गनिर्देशन गर्ने दस्तावेज हुने अपेक्षा गरिन्छ।