
काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (जेठ ११ गते) देखि हकप्रदमा बाँकी रहेको शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६ सय ७६ कित्ता शेयर लिलामीमा ल्याएको हो, जसमा संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता लकइनमा रहेका शेयर समावेश छन्। यी शेयरको लकइन अवधि २०८२ साल असार ७ गतेसम्म कायम छ।
साथै, लकइनमा नरहेका सर्वसाधारण समूहका थप ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि लिलामीमार्फत बिक्री गरिनेछ। लिलामी बिक्री प्रक्रिया सानिमा क्यापिटल लिमिटेडमार्फत व्यवस्थापन हुनेछ। न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, तर आवेदन दिने लगानीकर्ताले सो मूल्यभन्दा बढी कबुल गर्नु पर्नेछ। सर्वाधिक मूल्य कबुल गर्नेले प्राथमिकतामा शेयर प्राप्त गर्ने छन्, र बाँकी रहेमा दोस्रो उच्च मूल्य कबुल गर्ने क्रमशः बाँडफाँडमा समावेश हुनेछन्।
लिलामी शेयरमा आवेदन दिन न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै उपलब्ध शेयरको लागि पनि आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
शिलबन्दी फाराम लिएर काठमाडौंमा सानिमा क्यापिटलको नक्सालस्थित कार्यालयबाट आवेदन दिन सकिनेछ। काठमाडौं बाहिर विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरस्थित सानिमा बैंक शाखा तथा बागलुङस्थित गरिमा विकास बैंक शाखाबाट आवेदन दिन सकिनेछ।
यसअघि, कम्पनीले चैत्र १९ देखि वैशाख १४ गतेसम्म १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। जसमध्ये ८५ लाख ९५ हजार ९ सय २८ कित्ता शेयर मात्र रितपूर्वक आवेदनमार्फत बाँडफाँड गरिएको थियो। बाँकी रहेका शेयर अहिले लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।