
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले 'निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९' नामक ऋणपत्र जेठ १८ गतेदेखि निष्काशन गर्दैछ। सात वर्ष अवधिको यो ऋणपत्र वार्षिक ६ प्रतिशत ब्याजदरमा हुनेछ। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरमा ५ अर्ब रुपैयाँ बराबरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो, जसमा ६० प्रतिशत (३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता) निजी तवरबाट र बाँकी ४० प्रतिशत (२ अर्ब रुपैयाँ बराबरका २० लाख कित्ता) सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणलाई छुट्याइएकोमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइनेछ, भने बाँकी १९ लाख कित्ता ऋणपत्रका लागि साधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म दिन सकिनेछ।
ऋणपत्रको निष्काशन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहनेछ। यस ऋणपत्रको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्, जसका लागि ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म, धितोपत्र बोर्डबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरू प्रयोग गर्न सकिनेछ। ऋणपत्रका लागि इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई मध्यमस्तरमा सुरक्षित देखाउँछ। यस ऋणपत्रबाट आर्जन हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको मध्य र अन्त्यमा कर कटौतीपश्चात भुक्तानी गरिनेछ।