शंकास्पद कारोबारमा तीव्र वृद्धि, मनी लाउन्डरिङ जोखिम उच्च रहेको राष्ट्र बैंकको प्रतिवेदन

काठमाडौँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (FIU) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा शंकास्पद कारोबार (STR) को संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३०४ पुगेको छ। सन् २०२३ मा यस्तो कारोबार ६ हजार २५५ मात्र थियो। यो वृद्धि मनी लाउन्डरिङ निवारण ऐन, २०६४ अन्तर्गत सूचक संस्थाहरूबाट प्राप्त विवरणमा आधारित हो। प्रतिवेदनमा उल्लेख गरिएअनुसार १ हजार ८९४ वटा रिपोर्टको विश्लेषण गरिएको थियो, जसमा १ हजार ८६ वटालाई अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ भने बाँकी ८०८ रिपोर्ट थप जानकारीको प्रतिक्षामा अभिलेखीकरण गरिएको छ।

साथै, सीमा कारोबार विवरण पेस गर्ने संख्या पनि उल्लेखनीय रूपमा बढेको देखिएको छ। सन् २०२३ मा १७ लाख ८३ हजार कारोबार विवरण पेस गरिएकोमा सन् २०२४ मा यो संख्या १९ लाख ७२ हजार नाघेको छ। राष्ट्र बैंकको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्था, अनुसन्धान तथा नियामक निकायहरूको संख्या पनि १ हजार ४९६ बाट बढेर १ हजार ९०५ पुगेको छ। प्रतिवेदनले नेपालको वित्तीय प्रणालीमा अझै मनी लाउन्डरिङको जोखिम विद्यमान रहेको र त्यसको निगरानी तथा नियन्त्रणमा थप प्रभावकारिता आवश्यक रहेको स्पष्ट गरेको छ, जसले नीति निर्माता र नियामक निकायहरूलाई थप जिम्मेवार बनाउने संकेत दिन्छ।