गभर्नर पौडेलद्वारा नयाँ नोट छपाइको निर्णय, मौद्रिक नीति कार्यान्वयन र सुपरीवेक्षणमा विशेष फोकस

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले पाँच सय र एक हजार दरका नयाँ नोट छपाइको निर्णयमा हस्ताक्षर गरेका छन्। उनले मौद्रिक नीति र वित्त नीति फरक विषय भएको उल्लेख गर्दै यदि मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा अवरोध गरेको भए, त्यसमा आवश्यक परिमार्जन गरिने बताए। गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीतिका कार्यान्वयन र अर्को प्रमुख काम बैंकिङ प्रणालीको सुपरीवेक्षणलाई बलियो बनाउने बताउँदै सर्वसाधारणको बैंकमा रहेको निक्षेपको सुरक्षालाई सुनिश्चित गर्न सुपरीवेक्षणलाई मजबुत बनाउने प्रतिबद्धता जनाए।

उनले मौद्रिक नीतिलाई सफल बनाउनका लागि मात्र नियम बनाउनु पर्याप्त नभई प्रभावकारी अनुगमन, मूल्यांकन र नीतिगत छलफल आवश्यक रहेको बताए। गभर्नर पौडेलले नीति निर्माण गर्दा सबै सरोकारवालासँग छलफल गरेर मात्र निर्णय लिइने स्पष्ट पारे। नीति जबर्जस्ती लागू गर्नु भन्दा साझा समझदारीमा आधारित नीति निर्माण नै प्रभावकारी हुने उनको भनाइ थियो। उनले राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीको सहकार्यमा दिएको अधिकार प्रयोग गरेर काम गरिने बताए। अर्का गभर्नर आकांक्षी कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा अस्वीकृत हुनु आन्तरिक व्यवस्थापनको विषय भएको भन्दै उनले यसमा थप टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।