
काठमाडौँ ।ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडले आगामी असार ६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्ने, नयाँ सञ्चालक समिति गठन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरिनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअन्तर्गत जेठ १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र सञ्चालक निर्वाचनमा मतदान गर्न योग्य हुनेछन्।
सभामा पेश गरिने प्रस्तावहरू:
साधारण प्रस्तावहरू:
- आ.व. २०८०/८१ का लागि सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्ने।
- लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू समावेश गरिएका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।
- कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आगामी आ.व. २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
- नयाँ सञ्चालक समिति गठन गर्ने।
विशेष प्रस्तावहरू:
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने।
- सञ्चालकको पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा निर्धारण गर्ने।
- वार्षिक साधारणसभाले पारित गर्ने प्रस्तावहरूमा नियामक निकायबाट संशोधन वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यक हेरफेर गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने।
सञ्चालक निर्वाचन कार्यक्रम:
सर्वसाधारण शेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गरिनेछ।