
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार गभर्नर पदको शपथ ग्रहण गरेका छन्। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथपछि डा. पौडेलले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्दै औपचारिक रूपमा कार्यकाल सुरु गरेका छन्।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत डा. पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको हो। उनले यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा काम गरिसकेका छन्।
बैंकिङ, वित्तीय नीति र समष्टिगत अर्थतन्त्रमा विशेष दख्खल राख्ने डा. पौडेलको नियुक्तिसँगै अब राष्ट्र बैंकले वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण र मौद्रिक नीति सुधारतर्फ थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।
उनको कार्यकाल पाँच वर्षको हुनेछ। अब उनले मुलुकको मौद्रिक नीतिलाई सन्तुलित राख्दै वित्तीय अनुशासन र बैंकिङ प्रणालीको सुदृढीकरणमा केन्द्रित हुने अनुमान गरिएको छ।