डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर बने

 काठमाडौँ । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पाँच वर्षका लागि नियुक्त गरेको हो। यसअघि गभर्नर सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष पेस गरेको थियो। डा. पौडेलको नाम पहिलो नम्बरमा सिफारिस गरिएको थियो। अन्य सिफारिस हुनेमा कार्यवाहक गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराई थिए।

अर्थशास्त्रका विज्ञ डा. पौडेल अमेरिकाबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी गरेका छन्। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का सल्लाहकार तथा विश्व बैंकका परामर्शदाता समेत भइसकेका छन्। साथै, उनले सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोमा संचालकको भूमिका पनि निर्वाह गरेका थिए।