
काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक वाणिज्य बैंकहरूको सूचना प्रविधि (आईटी) सुपरिवेक्षण सुरु गरेको छ। पहिलो चरणमा नबिल बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंक लिमिटेडको आईटी सुपरिवेक्षण सम्पन्न गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली र डिजिटल कारोबारलाई सुरक्षित बनाउन, बैंकहरूले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल तथा इन्टरनेट बैंकिङ, एटीएम, डेबिट/क्रेडिट कार्ड प्रणाली, साइबर सुरक्षा लगायतका पक्षमा निगरानी थालेको हो।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले नीतिगत दिशा तय गरेपछि बैंक सुपरिवेक्षण विभागले सोही आधारमा सुपरिवेक्षण अघि बढाएको हो। बैंकहरूले फरक-फरक सफ्टवेयर र प्रणाली प्रयोग गर्दा देखिएको असमानतालाई कम गरी एकरुपता ल्याउन समेत सुपरिवेक्षण गरिएको बताइएको छ। आगामी चरणमा सबै बैंकहरूको आईटी सुपरिवेक्षण गरी समग्र प्रणालीलाई सुदृढ बनाउने राष्ट्र बैंकको योजना छ। यसले बैंकिङ कारोबारको विश्वसनीयता र सेवाग्राहीको हित संरक्षणमा सघाउने अपेक्षा गरिएको छ।