उपभोक्ता सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न, साल्ट ट्रेडिङको भूमिका प्रशंसनीय

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त आयोजनामा काठमाडौंमा उपभोक्ता सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको कार्यक्रममा उपभोक्ता अधिकार र सुरक्षामा सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिइयो। मन्त्री भण्डारीले बजार अनुगमनलाई सरकारले नियमितरूपमा अघि बढाइरहेको उल्लेख गर्दै उपभोक्ता सुरक्षामा निजी क्षेत्रको भूमिकासमेत महत्वपूर्ण हुने बताए। साल्ट ट्रेडिङले रैथाने बालीको बजारीकरण, आपूर्ति शृङ्खलाको व्यवस्थापन, सुपथ मूल्य पसल सञ्चालन लगायतका माध्यमबाट उपभोक्ता हितमा उल्लेखनीय काम गर्दै आएको उनको भनाइ थियो।

कार्यक्रममा विभिन्न विज्ञ, पूर्व सचिव, निकाय प्रमुख र सरोकारवालाहरूले उपभोक्ता सुरक्षामा सुधार आवश्यक रहेको बताउँदै साल्ट ट्रेडिङको भूमिका सशक्त रहेको उल्लेख गरे। नेपाल आयल निगमसँगको सहकार्यमा ग्यास वितरण, जडीबुटी प्रशोधन, शैक्षिक सामग्री आपूर्ति तथा नुनको गुणस्तर सुनिश्चितता लगायतका क्षेत्रमा साल्ट ट्रेडिङको योगदान उल्लेखनीय रहेको जनाइएको छ। फ्री इकोनोमीको सन्दर्भमा चुनौतीहरू आउनु स्वाभाविक भए पनि संस्थाले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गरिरहेको सहभागीहरूको धारणा थियो। उपभोक्ता सुरक्षालाई सुनिश्चित गर्न निजी क्षेत्र, सार्वजनिक संस्था र सरकारी निकायबीच सहकार्य अझ मजबुत बनाउनेमा सबै वक्ताहरूले जोड दिए।