
काठमाडौँ । प्रतिनिधि सभाले जलस्रोत व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण विधेयक, २०८१ पारित गरेको छ। सोमवार बसेको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जुन बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। मन्त्री खड्काले विधेयक विगतका कानूनलाई परिमार्जन गर्दै जलको न्यायोचित बाँडफाँड, संरक्षण र उपयोग सुनिश्चित गर्न ल्याइएको स्पष्ट पारे।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले जलसम्बन्धी समग्र विषयहरू — उपयोग, प्रयोग, सदुपयोग र संरक्षण — समेटिएको विधेयक आयोगमार्फत कार्यान्वयन हुने जानकारी दिए। उनले सबै तहका सरकारहरूको अधिकार सुनिश्चित गर्दै कानुनी ढाँचा समयानुकूल बनाइएको बताए। कार्यान्वयनलाई प्रभावकारी बनाउन सुझावहरूलाई नियमावली र कार्यविधिमा समावेश गरिने पनि उनले उल्लेख गरे। साथै, विद्युत ट्रान्समिसन लाइनसम्बन्धी विषयहरू आगामी विद्युत विधेयकमार्फत सम्बोधन गरिने जानकारी समेत दिए ।