छ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा, दावी गर्न ३५ दिनको समय

काठमाडौँ । एकैपटक छ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत चैत्र १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यी सहकारीहरूलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको हो।

समस्याग्रस्त सूचीमा परेका सहकारीहरूमा काठमाडौंको नयाँ बजारस्थित आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र यससँग सम्बद्ध तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था तथा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्।

अब सहकारी ऐनको दफा १०५ बमोजिम ती संस्थाहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ। समितिले सहकारी ऐन, २०७४ को दफा ११२ अनुसार ती समस्याग्रस्त संस्थाका सदस्य बचतकर्ता तथा ऋणीहरूलाई आफूलाई पाउनु पर्ने दाबी समिति समक्ष पेश गर्न आग्रह गरेको छ। दाबीका लागि समितिको वेबसाइट www.coopme.gov.np मा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सप्रमाण अनलाइन मागदावी आवेदन फाराम भर्नु पर्नेछ।

थप जानकारीका लागि समितिको वेबसाइट हेर्न वा कार्यालय समयमा ०१-४७७१९९९ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।