
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको नयाँ सूची सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम् ब्याजदर यथावत राखेका छन् ।
तीन बैंक नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले जेठका लागि ब्याजदर सामान्य बढाए पनि अधिकांशले यथावत राखेका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले सामान्य घटाएका छन् ।सोअनुसार समग्रमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर जेठका लागि घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठमा ५.९५२ प्रतिशत हुने भएको छ ।
देशको प्रतिकुल आर्थिक अवस्था र लगानीकर्तामा छाएको निराशाले बैंकहरुमा सात खर्बभन्दा बढि लगानीयोग्य रकम जम्मा भएको छ । बैंकमा भएको पैसामा ऋण माग नहुने र बजारमा भएको लगानीको अशुली सुस्त हुँदा बैंकहरु सकसमा रहेका छन् । धेरै बैंकहरुको खराब कर्जा ५ प्रतिशत माथि पुगेको छ, जुन जोखिमपूर्ण मानिन्छ । अधिक तरलता भएर राष्ट्र बैंकले खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् । केही बैंकलाई भने पूँजी कोषको दबाब छ ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्छन् । जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।
कुन बैंकको व्याजदर कति ? (प्रतिशतमा)
बैंकको नाम वैशाख महिनाको ब्याजदर (%) जेठ महिनाको ब्याजदर (%)
नेपाल बैंक 5.15 5.45
एसबीआई 5.50 5.50
हिमालयन बैंक 5.50 5.50
इन्भेस्टमेन्ट मेगा 6.50 5.50
कृषि विकास बैंक 5.51 5.51
सिटिजन्स बैंक 5.65 5.65
लक्ष्मी सनराइज बैंक 5.75 5.75
नबिल बैंक 5.75 5.75
सिद्धार्थ बैंक 5.60 5.70
कुमारी बैंक 5.92 5.91
ग्लोबल आईएमई बैंक 6.00 6.00
माछापुच्छ्रे बैंक 6.00 6.00
राष्ट्रिय वाणिज्य बैंक 6.00 6.00
प्रभु बैंक 6.10 6.10
प्राइम कमर्सियल बैंक 6.25 6.25
स्टान्डर्ड चार्टर्ड बैंक 6.25 6.25
सानिमा बैंक 5.95 6.33
एनएमबी बैंक 6.60 6.60
एनआईसी एशिया बैंक 6.60 6.60
एभरेस्ट बैंक 6.61 6.64