बीमाको विश्वसनियता बढाउन बीमा कम्पनीहरूलाई अध्यक्ष ओझाको आग्रह

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूलाई बीमाको विश्वसनियता (credibility) बढाउने गरी काम गर्न आग्रह गरेका छन्। बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा सम्बोधन गर्दै उनले बीमा क्षेत्रको सुधारलाई निरन्तर प्रक्रिया भन्दै त्यसमा गम्भीरता साथ लाग्नुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखा परेका कमजोरीहरू क्रमशः हटाउँदै लैजानुपर्नेमा जोड दिंदै बीमाको विश्वसनियता अभिवृद्धि अहिलेको प्रमुख प्राथमिकता भएको स्पष्ट पारे। उनले दाबी भुक्तानी, जीवन तथा निर्जीवन बीमा सम्बन्धी गुनासाहरूको प्रभावकारी समाधान गर्नुपर्नेमा जोड दिँदै बीमा प्राधिकरणमा बढ्दो उजुरीसंख्याले सेवा प्रवाहमा प्रश्न उठ्न सक्ने चेतावनीसमेत दिए।

"हामी बीमाको विश्वसनियता बढाउने गरी काम गर्न तयार छौँ," अध्यक्ष ओझाले भने, "आज देखिएका कमी कमजोरीहरू क्रमशः हटाउँदै जानेछौँ। दाबी भुक्तानी र अन्य गुनासाहरू घटाउँदै शून्यमा पुर्‍याउन आवश्यक छ।" उनले बीमा क्षेत्रको सेवा प्रवाहमा सुधार र विश्वसनियता अभिवृद्धि नै आगामी एक वर्षको मुख्य प्राथमिकता हुने जानकारी दिए।

कार्यक्रममा बीमा क्षेत्रका सरोकारवाला निकायहरू, बीमा कम्पनीका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।