
काठमाडौँ । बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले नेपाल, बंगलादेश, भुटान र भारतको उत्तरपूर्वी राज्यहरूबीच जलविद्युत्, स्वास्थ्य सेवा र पूर्वाधारमा अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन्। ढाकामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा युनुसले एकीकृत आर्थिक योजनामार्फत साझा फाइदा लिन सकिने उल्लेख गर्दै नेपाल–बंगलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्यको सम्भावना औँल्याए। साथै, उनले रङ्गपुरमा निर्माणाधीन एक हजार शय्याको अस्पताल स्वास्थ्य क्षेत्रमा क्षेत्रीय पहुँच विस्तारको उदाहरण बन्ने बताए।
उपसभामुख रानाले बंगलादेशसँग आर्थिक, शैक्षिक र नागरिकस्तरको सम्बन्ध विस्तारमा नेपाल गम्भीर रहेको बताउँदै दुई देशबीच सहकार्यका विविध सम्भावना रहेको उल्लेख गरिन्। उनले हाल बंगलादेशका मेडिकल कलेजहरूमा २,७०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको जनाउँदै शैक्षिक सहकार्यको सम्भावनालाई पनि उजागर गरिन्। दुवै पक्षबीच भौतिक अन्तरआबद्धता र सडक सञ्जाल विस्तारको विषयमा समेत छलफल भएको उपसभामुखको सचिवालयले जनाएको छ।