उद्योगी–व्यवसायीको समस्या समाधानमा सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोगिरहेका समस्याप्रति सरकार गम्भीर रहेको र समाधानमा प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)ले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै उनले सरकार बनेको लगत्तै अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्न ध्यान केन्द्रित गरिएको जानकारी दिए।

उनका अनुसार समस्याको समाधानका लागि आवश्यक कानुनी संरचना निर्माणमा सरकार लागिपरेको छ। “बजेट मात्र होइन, अन्य कानुनी संरचना निर्माण गरेर भए पनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं,” मन्त्री पौडेलले भने। कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजी क्षेत्रको प्रवर्द्धनप्रति सकारात्मक संकेत देखिएको उल्लेख गर्दै बजेटले लगानी प्रोत्साहन गर्ने अपेक्षा गरिएको बताए।

ढकालले व्यवसायी, कर्जा सुरक्षण निगम, सरकार र विकास साझेदारहरू मिलेर जोखिम बाँड्ने र त्यसअनुसार एक करोड रुपैयाँसम्मको कर्जा परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले अर्थतन्त्र चलायमान बनाउन यस्तो संयन्त्र आवश्यक रहेको उल्लेख गरे।