दरमखोला हाइड्रोपावर असारमा सञ्चालनमा आउने, ९६ प्रतिशत निर्माण सम्पन्न

काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबासमा निर्माण भइरहेको दरमखोला हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि सुरु भएको निर्माण कार्य असार महिनाभित्रै सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने तयारी भइरहेको छ। हालसम्म पाइलाइन, विद्युत् गृह र ड्यामसहित ९६ प्रतिशत निर्माण सकिएको इञ्जिनियर नीरज दासले जानकारी दिएका छन्। साढे चार किलोमिटर पाइपलाइनमार्फत दरमखोलाको पानी ल्याएर मनेवापाटामा निर्माण गरिएको पावर हाउसमार्फत ९.6 मेघावाट विद्युत् उत्पादन गरिनेछ। केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले लाइन तान्ने र पोल गाड्ने काम गरिरहेको छ।

सुरुआतमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भनिएको भए पनि पछि दरमखोला हाइड्रो इनर्जी प्रालिले जिम्मेवारी सम्हालेको हो। प्रालिका अध्यक्ष नरबहादुर पुन ‘नीरज’का अनुसार रु २ अर्ब १५ करोडको लगानीमा परियोजना निर्माण भइरहेको छ। उनले हाइड्रोपावर निर्माणको उद्देश्य जिल्लाका विकट भेगमा विद्युत् पुर्‍याउनु रहेको बताए। उनका अनुसार सत्र वर्षअघि इजाजत लिएको भए पनि निर्माण कार्य सुरु भएको पाँच वर्षमात्रै भएको हो। अब एकदेखि डेढ महिनाभित्र हरिचौर सवस्टेशनमा विद्युत् जोडिने र उत्पादन सुरु हुने जनाइएको छ।