प्रभु महालक्ष्मीको मुनाफा बढ्दा पनि प्रतिशेयर आम्दानीमा गिरावट

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।मीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.८१ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.५४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २१.३५ प्रतिशत र कुल खर्च १७.७२ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७१ पैसा घटेर ७ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ।

४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ४७ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।