
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १० औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ, जसको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (TEPC), ललितपुर उद्योग वाणिज्य संघ तथा नेपाल हस्तकला महासंघको सहआयोजनामा सुरु भएको मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बङ्गलादेश र थाइल्याण्डका स्टलहरू सहभागि छन्। मन्त्री भण्डारीले बजेटमार्फत लगानी क्षेत्रलाई प्राथमिकता दिइने जनाउँदै औद्योगिक पूर्वाधार र विशेष आर्थिक क्षेत्रलाई नयाँ मोडालिटीका साथ अगाडि बढाइने बताएका छन्।
मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टलमार्फत वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिएको छ, जसमा मेड इन नेपाल पेभेलियन, हस्तकला, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, निर्माण, शिक्षा तथा विद्युतीय सवारीसाधनसम्बन्धी सामग्रीहरू समावेश छन्। आयोजकका अनुसार करिब २० हजार अवलोकनकर्ताको उपस्थितिको अपेक्षा गरिएको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनबारे छलफल पनि हुनेछ। मेला वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ भने जेष्ठ नागरिक, फरक क्षमताका व्यक्ति र विद्यार्थीहरूका लागि छुटको व्यवस्था गरिएको छ।