महुली लघुवित्तको नाफामा २५.६२ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानी १४.६२ रुपैयाँ

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.६२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा ३ करोड २२ लाख रुपैयाँ थियो । लघुवित्तको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी पनि २५.६३ प्रतिशतले वृद्धि भई ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख कायम भएको छ ।

लघुवित्तको वितरणयोग्य नाफा ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ करोड ६१ लाख रुपैयाँ थियो । त्रैमासिक विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) वार्षिक १४ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ५१ पैसा छ । चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले एक अर्ब ७५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ र अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चार अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीको चुक्ता पुँजी ३६ करोड ९९ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ ।