
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको मागअनुसार सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताएका छन्। ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनद्वारा आयोजित ‘औद्योगिक सम्बन्ध र श्रम नीतिसम्बन्धी’ गोष्ठीमा बोल्दै उनले रोजगारीलाई सिपसँग जोड्न सके आन्तरिक रोजगार प्रवर्द्धनमा टेवा पुग्ने बताए। मन्त्रालयको प्रयाससँगै निजी क्षेत्रको सक्रियता पनि आवश्यक रहेको उल्लेख गर्दै उनले श्रम क्षेत्रका चुनौतीहरूलाई मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।
मन्त्री भण्डारीले रोजगारका लागि सिपयुक्त श्रम शक्ति अपरिहार्य रहेको बताउँदै सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे। उनले सरकारको आगामी नीति तथा कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य बनाउने तयारी भइरहेको जानकारी दिए। त्यसका लागि आवश्यक कानुनी संरचना संशोधन गरिने उल्लेख गर्दै उनले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई नीति लागू गरिने स्पष्ट पारे।