
काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। गोरखापत्रको प्रकाशन सुरु भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरिन्छ। २०७३ सालदेखि राष्ट्रिय दिवसको रूपमा मान्यता पाएको यो दिन ‘विश्वसनीय सूचनाको आधार: जबाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नारासहित मनाइँदैछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह हुँदैछ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।
सो अवसरमा दुई जना वरिष्ठ पत्रकारलाई जनही दुई लाख रुपैयाँ र कदरपत्रसहित सम्मान गरिनेछ भने छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कारस्वरूप जनही एक लाख रुपैयाँसहित कदरपत्र प्रदान गरिनेछ। मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जिम्मेवार र प्रेरणादायी पत्रकारिताको प्रवर्द्धनमा यस दिवसले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। यसैबीच, गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औँ वर्ष प्रवेश र संस्थानको ६३औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गर्दैछ।