नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । आजको शेयर बजार नेप्से परिसूचक १.०३ अंकले वृद्धि भई २,६११ विन्दुमा बन्द भएको छ । आजको दिन १२० कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १२६ कम्पनीको मूल्य घटेको छ । कुल ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७४ करोड रुपैयाँ नाघेको छ ।

कारोबारको आधारमा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा रह्यो । यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । दोस्रो स्थानमा ङादी ग्रुप पावर रहँदा यसको ६७ करोड ३२ लाख रुपैयाँको कारोबार भयो । राधि विद्युत कम्पनीको कारोबार ३८ करोड २२ लाख रुपैयाँमा सीमित रह्यो ।

लगानीकर्ताको आम्दानीतर्फ नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज १० प्रतिशतले कमाई गरेका छन् । त्यस्तै, क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशत, ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशत र रिडी पावरका लगानीकर्ताले ९.९१ प्रतिशत कमाई गरेका छन् । अर्कोतर्फ, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने १० प्रतिशतको ठूलो घाटा व्यहोर्नुपरेको छ ।