काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले सधैँ अनुभूति गर्ने गरी विकास र निर्माणका काम गर्नुपर्नेमा जोड दिएका छन्। नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले राजनीतिकर्मीहरू चुनावी प्रतिबद्धतामा आधारित भएर जनताप्रति प्रत्यक्ष जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए। आफ्नो कार्यकाल सधैँको नहुने भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने कार्य गर्नुपर्ने उनले उल्लेख गरे। सीमित स्रोतसाधनका बीच पनि उत्कृष्ट कार्य सम्पादनको दायित्व आफूमा रहेको बताउँदै उनले राज्यमन्त्रीको साथमा तीनै तहका सरकारसँग समन्वय गर्दै जिम्मेवारपूर्वक कार्य गर्नुपर्ने धारणा राखे। मन्त्री खड्काले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाउँदै आपसी सम्मान र संस्कार जोगाउँदै अगाडि बढ्नुपर्ने बताए।