
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग (एमएसएमई) प्रवर्द्धनमा केन्द्रित बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा काठमाडौंमा नेपाल व्यवस्थापक संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले एमएसएमईहरूको अर्थतन्त्रमा ठूलो योगदान भए पनि सरकारले तिनलाई अपेक्षाकृत प्रोत्साहन नदिएको बताए। उनले उत्पादन, उत्पादकत्व र रोजगारीमा एमएसएमईको महत्त्वपूर्ण भूमिका रहेकाले बजेटमार्फत सहज ऋण, पुनःनविकरण तथा पुनर्तालिकीकरणको व्यवस्था गर्नुपर्ने धारणा राखे।
श्रेष्ठले बलियो सरकार हुँदा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गर्ने उल्लेख गर्दै पूर्वाधार विकास बिना समुन्नत अर्थतन्त्र सम्भव नहुने धारणा व्यक्त गरे। भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र आन्तरिक कनेक्टिभिटी सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले ४० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन ठोस कदम चाल्नुपर्ने माग राखे। साथै, सरकारले घोषणा गरेको 'रोजगार दशक'लाई 'औद्योगिक दशक'मा रूपान्तरण गर्न सुझाव दिँदै औद्योगिक विकासबाट मात्र युवा पलायन रोक्न सकिने बताए।